(१) प्रदूषण कम गर्ने, हटाउने वा नियन्त्रण गर्ने तथा प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन अनुसार गर्नु पर्ने कामहरु प्रभावकारी रुपले गर्न गराउन मन्त्रालयले लोक सेवा आयोगबाट निर्धारित प्रकृया पूरा गरी वातावरण निरीक्षकहरु नियुक्त गर्न वा त्यस्तो निरीक्षकको काम गर्ने गरी कुनै कर्मचारीलाई तोक्न सक्नेछ । वातावरण निरीक्षकहरुको योग्यता तोकिए बमोजिम हुनेछ ।
(२) वातावरण निरीक्षकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः–
(क) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम प्रदूषण कम गर्ने, हटाउने वा नियन्त्रण गर्ने कार्य भए नभएको निरीक्षण गर्ने,
(ख) यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत कुनै ठाउँबाट ध्वनी, ताप वा फोहर मैला निष्काशन गरे नगरेको सम्बन्धमा निरीक्षण गर्ने,
(ग) प्रस्ताव कार्यान्वयन गर्ने स्वीकृति दिंदा तोकिएका शर्तहरु बमोजिम काम भए नभएको जाँचबुझ तथा निरीक्षण गर्ने,
(घ) खण्ड (क), (ख) र (ग) बमोजिम निरीक्षण गर्दा देखिएका कुराहरुको प्रतिवेदन तोकिएको अधिकारी समक्ष पेश गर्ने ।
(३) उपदफा (२) को खण्ड (क), (ख) र (ग) बमोजिम निरीक्षण गर्ने सिलसिलामा वातावरण निरीक्षकले सम्बन्धित व्यक्ति, संस्था वा प्रस्तावकलाई पूर्व सूचना दिई कुनै घर, जग्गा भवन, कारखाना, उद्योग, सवारी साधन, औद्योगिक संयन्त्र, औजार, मेशिनरी, जीव, वस्तु, अभिलेख, कागजात वा अन्य मालसामान वा वस्तुहरुको निरीक्षण, परीक्षण वा जाँचबुझ गर्न सक्नेछ ।
(४) उपदफा (२) वा (३) बमोजिम निरीक्षणको सिलसिलामा वातावरण निरीक्षकलाई सम्बन्धित व्यक्ति, संस्था वा प्रस्तावकले आवश्यक सहयोग गर्नु पर्नेछ ।
(५) उपदफा (२) र (३) बमोजिम वातावरण निरीक्षकले निरीक्षण गर्न जाँदा कुनै व्यक्ति वा संस्थाले निरीक्षण गर्न नदिएमा, निरीक्षणमा बाधा विरोध उत्पन्न गरेमा वा निरीक्षणमा सहयोग नगरेमा त्यस्तो व्यक्ति वा संस्थालाई वातावरण निरीक्षकले देहाय बमोजिम जरिबाना गर्न सक्नेछः
(क) निरीक्षण गर्न नदिएमा वा निरीक्षणमा बाधा विरोध उत्पन्न गरेमा बीस हजार रुपैयाँसम्म,
(ख) निरीक्षण गर्न सहयोग नगरेमा पन्ध्र हजार रुपैयाँसम्म ।
(६) उपदफा (५) बमोजिम वातावरण निरीक्षकले गरेको सजाय उपर चित्त नबुझ्नेले तोकिएको अधिकारी समक्ष उजुरी गर्न सक्नेछ र त्यस्तो उजुरीमा तोकिएको अधिकारीले गरेको निर्णय अन्तिम हुनेछ ।
(७) वातावरण निरीक्षकको अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।